समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे सुरुवातको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा ।
पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु ।
अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्ने मसी पनि पातलिनु स्वाभाविकै हो । लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू । आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ ।
दोस्रो योजना हो, यस वर्षदेखि म हातैले लेख्ने बानी बसाल्छु ।
हेर्दा सानो कुरो छ, तर जब्बर समस्या बनेर पिरोल्ने गर्छ सबैलाई । प्रविधिले दास बनाएको समयमा यसलाई पूर्णरूपमा नकार्न त असम्भव नै छ । तर सुविधाको यो प्रविधिले मान्छेलाई दुविधा पनि बढाएको छ । कतिसम्म भने, कीबोर्डमा टाइप गर्ने बानी लागेर कहिलेकाहीं कागजमा केही टिप्नुपरे आफूले लेखेको कुरा आफैंले नबुझूँला भन्ने डर हुन्छ । अफिसमा जागिर खाने कुरामा पनि हाजिरी खातामा दस्तखत गर्ने बेलामा हात सकसकाउँछ । यतिसम्म हुनु भनेको प्रविधिमा हदै आश्रित हुने आफ्नै ‘भरप्रसाद’ दैनिकीको परिणाम हो । अफिसको कामकाजदेखि घरमा इमेल र इन्टरनेट संसारको चक्कर कम्प्युटरबाटै लगाउँदा कुशल हात ‘लाठसाहेब’ बन्न थालेका छन् । यस्तो हातका औंलालाई फोकै उठ्ने अवस्थामा पुगे पनि लेखनमा म छुरा बनाउने प्रयासमा लाग्नेछु ।
यसको कारण कलमले लेख्ने बानी कायम राख्न मात्र होइन । लेख्ने बानी छुट्दा पहिले बाटुला अक्षर कोर्ने औंलाले कागखुट्टे गति समाउनु एउटा कुरो हो । हामीलाई त राष्ट्रिय परिस्थिति र बाध्यताले नै कापीमै लेख् भनेर कलम थमाएको छ । प्रविधिमा जति नै आश्रित भए पनि नेपालमा वर्षेनि झेल्नुपर्ने विद्युत् कटौतीको मारका कारण कलम चलाउने उद्यम जारी नै राख्दा वेश हुने देखिन्छ । आदत कस्तो चिज हो भने, भाँच्चिएको पखेटा वर्षौपछि जोडियो भने पखेटा विना पैदलयात्रु बन्ने बानी लागेको चराले झट्ट त उड्नै बिर्सिंदो हो । कापी-कलम छाडेर विद्युतीय उपकरणको शरण परेका मान्छेलाई पनि ती उपकरणविना कौडी शब्द नफुट्ने खतरा हुँदो रहेछ । अनि त विचार मस्तिष्कभरि पाकेर लेख्ने मुड भयो भने पनि बत्ती नै छैन, अथवा कम्प्युटर नै बिग्रेको छ भन्ने निहुँले नअँचेट्ला भन्न सकिन्न । एक लाइन लेख्न पनि कम्प्युटरविना नफुर्ने स्थितिसम्म पुगेको भावदशा मेरो आफ्नै नियति हो ।
र यी दुई कुरामा गरेका संकल्पमा प्रगति भए प्रविधिसँग दूरीमा बस्ने भनेर अहिले जतिसुकै वाचा बाँधे पनि त्यो कुरा बाँड्न भने यसैगरी ब्लगकै सहारा मैले लिनु नै पर्ला । ![]()
मैले भोगिरहेका र सुधारको आवश्यकता देखेर योजना बुनेका माथिका जस्ता समस्या अरु साथीहरूका पनि होलान् ।
२०१२ मा सबैको जय होस् !



समस्या यता पनि ठ्याक्कै उस्तै हो। अलिकती फरक के भने देश बाहिर हुनेहरुलाई पढ्छु भनेर समय निकाल्दा पनि पठन सामाग्रीहरुको उपलब्धता सिमित भएको बहाना मिल्ने गरेको छ।
ReplyDelete........ तपाईंको योजना पुरा होस् । बर्ष २०१२ को शुभकामना !!
man paryo! yojana pura hun :-) ra hunchan bhanne biswas cha.
ReplyDeleteसँकल्प पुरा होस् - २०१२ को यहि शुभकामना तपाईंलाई । अर्को यौटा थपेर तीन कुरा पार्नुपर्ने, माथीका दुई कुरासँगै सम्बन्धित; खै त त्यो चै? ब्लगमा नआएपनि मनमा गढेर रहोस् र पुरा भएको खबर सुन्न पाउँ ।
ReplyDelete'खै त त्यो चै ?' भनेको त्यै कुरा हो कि अरू नै ? :) बुझिनँ । त्यै हो ?
Deleteधन्यवाद कामनाको लागि ।
अरु होइन, त्यही कुरा हो जुन हामीले गरेका थियौं । गीत बनाउने विषय हैन त्यसैले 'त्यै' लेखेको । तपाईंको अन्त्यको 'त्यै हो?' ले कुरा बुझ्नुभयो भन्नेमा प्रष्ट भएँ ।
Deleteमेरो कामना उसैगरी चहकिलो छ है !
पढ्दा पनि कस्तो आफ्नै कुरा लेखे जस्तो लाग्यो :) । यो कम्प्युटर भन्ने वस्तुले गर्दा आजकल लेख-पढ बन्द प्राय: भएको छ । धेरै भयो मैले पनि नलेखे पनि कमसेकम पढ्नु चाहीँ पर्यो भनेर किताबहरू जम्मा गरेको ....तर यस्तै छ ।
ReplyDeleteआजकल भने लोडसेडिङ्गले गर्दा अलिकता पढ्ने मेसो मिलेको छ :)। म पनि दीपकजी कै कुरा दोहर्याउँछु: "ब्लगमा नआएपनि मनमा गढेर रहोस् र पुरा भएको खबर सुन्न पाउँ ।"